छ जाडो असाध्यै हियो नै कमायो
चिसोले दुखीको कठालो समायो ।
छ हुस्से ढपक्कै अँध्यारो बनायो
कहाँबाट आयो र बेथा खन्यायो ।
लुगाको व्यवस्था न पर्याप्त हुन्छ
त्यसैले दुखीको सधैँ देह रुन्छ ।
सबै लुग्लुगी काम्दछन् पौष माघ
यसैले सधैँ थप्छ पीडा तनाव ।
न खाना न छाना न नाना छ राम्रो
समस्यै समस्या भयो देश हाम्रो ।
हुँदा मात्र खानेहरूको कहानी
सधैँ घुम्छ उल्टो अनौठो मदानी ।
कलेटी परेका दुई ओठ देख्दा
दुखेको छ आत्मा तितो काव्य लेख्दा ।
निसाले अचाक्ली अझै थप्छ पीडा
धनी मस्त भर्छन् वृथा नग्न क्रीडा ।
बुढा बाल वृद्धा सबै काम्न थाले
नदी ताल खोलाहरू जम्न थाले
धरित्री स्वयम् नै परिन् घानभित्र
छ हेमन्त आफैँ बिमारी विचित्र ।
उता जङ्गली जीव पन्छी जरायो
मुसा स्याल हात्ती र गैडा खरायो
ठुला बोट वृक्षादि छन् कष्टसाध्य
बने फुङ्ग सारा डराए असाध्य ।
यता टाल्न खोज्दा उता भ्वाँङ पर्ने
कथा जिन्दगीको पढे आँसु झर्ने
कि नेता व्यवस्था दुई एक उल्टा
कयौँ जिन्दगी यी बने झन् बुगुल्टा ।
हरी गाँस मिथ्या ठुलो हुन्छ कोही
कतै स्वर्ण डल्ला धुलो हुन्छ कोही
यहीँ उर्वशीका बसी नाच हेर्छन्
रुपैयाँ हुने श्रीमतीसम्म फेर्छन् ।
उषाले बिहानै छरोस् नित्य लाली
उदाओस् यहाँ न्याय अन्याय फाली ।
धरा बेहुलीझैँ नयाँ वस्त्र लाई
रमाओस् खुसीले सधैँ मुस्कुराई ।
✍️ बिन्दु दहाल मूकदर्शक
दमक, झापा ।
Discussion about this post