दमक – दमकमा जारी दमक गोल्डकप अन्तर्गत शुक्रबार(आज)को खेलमा मनाङमस्र्याङ्दी क्लब बिजयी भएको छ ।
आज शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।
पहिलो हाफ एक/एकको बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्यो । ५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो ।
बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे । खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए ।
शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए । शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुने आयोजक दमक नगर खेलकुद बिकास समितिका खेल संयोजक मोहन मगरले जानकारी दिए ।
Discussion about this post