विजयकुमार अधिकारी, कमल – झापा जिल्लाको कमल गाउँपालिका वडा नं. २, समयगढ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा स्थापित महेन्द्र रत्न बाल क्लबको आयोजनामा आज शुक्रबारका दिन कमल गाउँपालिका क्षेत्र भित्रका सामुदायिक माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
महेन्द्र रत्न बाल क्लबका अध्यक्ष सोहन भुजेलको अध्यक्षता तथा महेन्द्ररत्न मा.वि.का प्रधानाध्यापक बालकृष्ण संग्रौलाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितामा कमल गाउँपालिकाभित्रका जम्मा ७ ओटा सामुदायिक विद्यालयहरूले भाग लिएका थिए भने आयोजक विद्यालयले भने प्रतियोगितामा भाग लिएको थिएन ।
उक्त कार्यक्रमको आरम्भमा सामुहिक राष्ट्रिय गान गाइएको थियो भने महेन्द्र रत्न माध्यमिक विद्यालय समयगढका शिक्षक विजयकुमार अधिकारीको रचना र कलाकर्मी कैलाश थापा मगरको सङ्गीतमा तयार गरिएको महेन्द्र रत्न मा.वि. को बालमैत्री गीतलाई उक्त विद्यालयकी कक्षा ८ मा अध्ययनरत विद्यार्थी मोनिका निरौलाले गाएर गायन प्रस्तुत गरेकी थिइन् ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूले आफ्नै रचनाका मिठा र रसिला बालमैत्री कविताहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रथम स्थाल सरस्वती मा.वि. कमल-४, मुजुरभिट्टाका आयुष्सा सोडारी, द्धितीय स्थान कमला मदनआश्रित स्मृति मा.वि., कमल-२, क्याम्पाबजारका दीपेश ढकाल, तृतीय स्थान ज्योति मा.वि., कमल-२, भुत्लुङका पवन आचार्य र सान्त्वना स्थान नरेन्द्र जनता मा.वि. कमल-१, सरङपाडाका विनोद थापाले नगद पुरस्कार क्रमशः रु. १००० , रु. ७०० र रु. ५०० को साथमा आकर्षक ट्रफी, डायरी तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई समेत नगद पुरस्कार रु. ३०० को साथमा डायरी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सहभागी विद्यालयबाट आउनुभएका संरक्षक शिक्षकहरू, महेन्द्ररत्न मा.वि. समयगढका शिक्षक तथा कर्मचारीहरू तथा उक्त विद्यालयका विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न उक्त प्रतियोगितात्मक कार्यक्रममा स्वागत मन्तव्य बाल क्लबकी सदस्य सोनिया श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बाल क्लबकी सचिव अतिक्षा मुखियाले गर्नुभएको थियो ।
Discussion about this post