पुर्खाको बलबाहुको रगतको सम्पत्ति हो त्यागको
आस्था सौर्य विवेक धीर मनको नेपाल हो आजको
हाम्रो चन्द्र र सूर्य अङ्कित सधैँ झन्डा बढोस् मास्तिर
झुक्नै हुन्न कतै कुनै समयमा कैलाश जस्तो शिर ।
आऊन् चोट हजार हन्डरहरू बाटा बनुन् अक्कर
हार्नै हुन्न कदापि जोस दिलमा साँच्ने गरौँ भर्भर
बाढी भेल चले चलुन् मुलुकमा अन्यायका आखिर
झुक्नै हुन्न कतै कुनै समयमा कैलाश जस्तो शिर ।
लाखौँ सङ्कट जालझेल सब ती नेतृत्वका रौरव
तोड्नै पर्छ प्रचण्ड धूर्त गण यी खेदौं सबै कौरव
साँच्चै पथ्थरझैँ बलिष्ठ तनमा ऊर्जा भरौँ आखिर
झुक्नै हुन्न कतै कुनै समयमा कैलाश जस्तो शिर ।
हाम्रो साँध खियो उँभो किन सर्यो खोजौँ सबैले मिली
बिच्छी हौँ अरिँगाल हौँ अब छिटै वैरी लखेटौँ चिली
नेपाली जनता उठौँ सब मिली यो देशका खातिर
झुक्नै हुन्न कतै कुनै समयमा कैलाश जस्तो शिर ।
माटो गौरव हो र प्राण तनको सम्झेर ल्याए कुरा
मान्छे चेतन पुञ्ज हो मुलुकको आस्थाहरूको धुरा
कालीकोट मनाङ या रुकुममा छाओस् प्रभा आखिर
झुक्नै हुन्न कतै कुनै समयमा कैलाश जस्तो शिर ।
✍️ लेखक/कवि :- बिन्दु दहाल (मूकदर्शक)
दमक, झापा

Discussion about this post