बेचेँ धर्म कला र संस्कृति सबै टोपी जनै कन्धनी
भाषा संरचना निदाल घरको खाँबा मदानी पनि
आफल्दै छु म यी धमाधम सधैँ संस्कार आफ्नो पन
कस्तो बन्छु भविष्यमा अब कठै सम्झेर आफैँ भन ।
बेचेँ पौरखका तरक्क पसिना ठेला कतै सिर्जना
बेचेँ नाक दिमाग उच्च गरिमा व्यक्तित्वका भावना
बेचेँ नेत्र दुबै म अन्ध छु सखे देखिन्न राम्रा कुरा
बेची कर्ण दुवै अपाङ्ग म बनेँ आफैँ भएँ बेसुरा ।
बेचेँ शैल समान मान महिमा पुर्खाहरूको धन
बेचेँ साँध कतै त्यसै मुफतमा यस्तै छ हौ आर्जन ।
बेची नैतिकता भएँ म भरिया फोस्रो छ निष्ठा अनि
बैसाखीभरमा म हिँड्छु अहिले बेचेर खुट्टा पनि ।
चौतारी पथका कुला बगर यी उद्यान बेच्दै छु ती
चौबन्दी फरिया कमेज लुकुनी के काम भन्दै छु यी
दौरा या सुरुवाल कोट पटुकी लाइन्न पाखे हुन
बेच्दै जान्छु सबै म राख्दिनँ कुनै को सक्छ मैले धुन ।
बेच्दै यौवनका चुली गगन झैँ अग्लिन्छु आफैँ पनि
नारा बेच्छु कतै र किन्छु ममता बन्दै छु यस्तै धनी
कोही किन्छ भने म बेच्छु घरका आमा बुबा श्रीमती
पैसाले सब दिन्छ शीतल भने चाहिन्न भो सङ्गति।
✍️ लेखक/कवि :- बिन्दु दहाल (मूकदर्शक)
दमक, झापा















Discussion about this post