पलपल सब बित्दा हुन्छ बेला अबेला
पलपल चुप बस्दा बढ्छ आफैँ झमेला
मनभरि पिर बोक्दा ज्यान आफ्नै सकिन्छ
हरपल दिल हाँसे आयु हाम्रै थपिन्छ ।
मनसँग तन मिस्दा जिन्दगी फल्छफुल्छ
मगमग तब बास्ना कन्दरासम्म डुल्छ
जल जमिन मिलेमा सिर्जना दिव्य हुन्छ
मनुज प्रभु भएमा झुक्छ आफैँ नुहुन्छ ।
मधुर पवन चल्दा देहमा स्फुर्ति आई
पुलकित सब चङ्गा बन्दछन् दाजुभाइ
विहग विपिन बस्छन् शान्तिको गान गाई
अधर अधर चुम्छन् प्रेममा ती रमाई ।
प्रकृति भव भयो यो प्राण भर्ने सबैमा
जनक र जननीझैँ घात छैनन् कसैमा
प्रकृतिसँग नमिल्दा डाइनोसौर बन्ने
मनभरि पिर चिन्ता कालले झन् उछिन्ने ।
पथिक जन नहिँड्दा बन्दछन् मार्ग झाडी
युवक अचल बन्दा सक्दछन् देश फाँडी
कुसुम वन नफुल्दा सिर्जना सार लुक्छ
हृदय कलुष बन्दा जिन्दगी व्यर्थ सुक्छ ।
✍️ बिन्दु दहाल मूकदर्शक
दमक, झापा ।
Discussion about this post