पक्कै हुन्छ बिहान निश्चित छ यो भाले नबासे पनि
हाँस्नै पर्छ हिमाल यी मनुजले मैले नहाँसे पनि
बाँड्नै पर्दछ स्वच्छ प्रेम ममता मैले नबाँडे पनि
फाँड्नै पर्दछ भ्रष्ट जङ्गल सबै मैले नफाँडे पनि ।
बाँच्नै पर्छ धरा सबै सुजन यी मैले नबाँचे पनि
भाँच्नै पर्दछ दुष्टका करङ ती मैले नभाँचे पनि
पढ्नै पर्दछ शास्त्रका शुभ कुरा मैले नपढ्दा पनि
चढ्नै पर्दछ अन्यले शिखर ती मैले नचढ्दा पनि ।
लेख्नै पर्दछ सत्य तथ्य जहिले मैले नलेखे पनि
देख्नै पर्दछ मिष्ठ सौम्य सपना मैले नदेखे पनि
छोप्नै पर्दछ लाजका सब कुरा मैले नछोपे पनि
बोक्नै पर्दछ मातृभार सबले मैले नबोके पनि ।
छोड्नै पर्दछ जाँडभाङ धतुरो मैले नछोडे पनि
गोड्नै पर्दछ दर्द ती हृदयका मैले नगोडे पनि
फेर्नै पर्दछ काँचुली मुलुकले मैले नफेरे पनि
हेर्नै पर्दछ सृष्टिका मधुरिमा मैले नहेरे पनि ।
पाउन् खान बिहान साँझ सबले मैले नखाए पनि
पाउन् शान्ति समाधि मित्र जनले मैले नपाए पनि
लाउन् वस्त्र शरीरमा गरिबले मैले नलाए पनि
गाउन् गीत सधैँ स्वदेशघरको मैले नगाए पनि ।
बाल्नै पर्दछ दीप गाउँघरमा मैले नबाले पनि
थाल्नै पर्दछ नव्य कार्य जनले मैले नथाले पनि
टाल्नै पर्दछ जीर्ण शीर्ण बुकुरा मैले नटाले पनि
चाल्नै पर्दछ पाउ ती शिखरमा मैले नचाले पनि ।
✍️ बिन्दु दहाल मूकदर्शक
दमक, झापा ।
Discussion about this post