काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यस पटक एसईईको नतीजा समयमै सार्वजनिक गर्न आवश्यक कार्य तीव्र रूपमा भइरहेको जानकारी दिंदै प्राविधिक समस्या नआए असार ३२ गतेभित्र नतीजा सार्वजनिक गर्ने बताए।
राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतीजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए। अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको काम समेत अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायत काम भइरहेको बताए। उनले भने‚ “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतीजा सार्वजनिक गर्ने तयारीमा छौं।”
कार्यालयले असार २० सम्म प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेशन गर्ने र ३२ मा नतीजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ।
यसअघि चार महीनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करीब दुई महीनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले बताए। कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतीजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए। -रासस













Discussion about this post