तिमी थाप, निरन्तर थापिरहू
अनेक धराप
मेरा बाटाहरूमा
बाटो काट्न सकेँ भने सम्झन्छु,
म सफल यात्री हुँ लिन्न कहिल्यै कुनै प्रतिशोध तिमीसित
उठाऊ हातभरी हिलो
र छ्याप मेरा मुखमा
छी भनेनन् कसैले भने
ठान्छु, म उज्यालो व्यक्ति हुँ
गर्दिनँ तिमीलाई नराम्रो देखाउने प्रयास – कहिल्यै
गर, गर्नुसम्म गर गाली
तिम्रा ती तुच्छ वचनले
मुसुक्क हाँस्न सकुन्जेल
मान्छु, म आफूलाई धैर्यवान्
झुक्किएर पनि तिम्रा लागि
आफ्नो मुख जूठो पार्ने छैन
वा, मान गर
सम्मान गर
माला लगाइदेऊ
म त्यसमा पनि गर्व गर्ने छैन
अल्झनु छैन मलाई एकैछिन पनि
अहंकारको छुद्र पासोमा
किनभने थाहा छ मलाई
मेरो खोजी
खरानीको थुप्रामा
बरु खोज्छु
क्रमशः सङ्लिँदै गएको बग्दो पानीमा
वा, क्रमशः पाउलिँदै गएका
शिशिर भोगिसकेका रुखहरूमा
वा क्रमशः वैलाउँदै गएका फूलका बोटहरूमा
तिम्रो गाली जति भ्रम हो
तिम्रो अपमान जत्रो भ्रान्ति हो
तिम्रो माया पनि त्यत्रै माया त हो
म छाड्दै छु ती सबै
बिस्तारै
किनभने मलाई थाहा छ,
मान्छेले खोज्ने उज्यालो
पुतलीले बत्तीमा खोज्ने उज्यालो भन्दा
धेरै फरक छ –
तमसोमा ज्योर्तिगमय !
– कवि लक्ष्मी प्रसाद ढुंगाना
सहायक क्याम्पस प्रमुख पाँचथर बहुमुखी क्याम्पस,
पाँचथर फिदिम













Discussion about this post