दमक, १४ साउन : झापाको दमकमा रहेको दमक नगर इसाई समाजले दमकमा खुल्ला रक्तदान तथा फुटसल कप प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आज आइतबार दमकस्थित टी–टाईम होटलमा दमक इसाई समाजले पत्रकार सम्मेलन गरेर कार्यक्रम आयोजना र सञ्चालनको बारेमा जानकारी गराएको हो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार दमक नगर इसाई समाजले २८औं स्थापना वार्षिकोत्सव र छैठौं साधारणसभाको अवसर पारेर रक्तदान र फुटसल कप प्रतियोगिता आयोजना गरिएको हो ।
फुटसल प्रतियोगिता सम्पन्न गर्न इसाई समाजका सहसचिव तथा युवा संगती दमक नगरका अध्यक्ष सुरज लिम्बुको संयोजकत्वमा समिति गठन भएको छ । पत्रकार भेटघाटमा आयोजक संस्था दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर राईले दमकमा इसाई समाजले आयोजना गरेको फुटसल प्रतियोगिता कोशी प्रदेशमै पहिलो भएको बताए ।
साउन १७ गते बुधबार दमकको वर–पिपल चौकमा इसाई समाजले ४४औं बृहत खुल्ला रक्तदान कार्यक्रम र साउन १८ र १९ गते दमक–५ गोर्खाली टोलस्थित विष्ट फुटसल खेल मैदानमा प्रथम दमक इसाई समाज फुटसल प्रतियोगिता सञ्चालन हुने अध्यक्ष पाष्टर राईले जानकारी दिए ।
फुटसल प्रतियोगितामा अन्तर इसाई समाजका १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सो प्रतियोगितामा बिजेता हुने टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल, ट्रफि र शिल्ड हात पार्ने भएको छ ।
पत्रकार भेटघाटमा दमक नगर इसाई समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका कोषाध्यक्ष एल्डर दिपेन्द्र नेम्बाङ, सहसचिव सुरज लिम्बू लगायतको उपस्थिति रहेको थियो । सो पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन समाजका सचिव पाष्टर अजय पाठकले गरेका थिए ।
Discussion about this post