दमक, १३ साउन : झापाको दमकमा जारी ध्रुवतारा कप २०८० वडास्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा दमक १० विजयी भएको छ ।
दमक १० ले दमक १ लाई २-० गोल अन्तरले पाखा लगाउँदै दोस्रो चरण प्रवेश गरेको हो ।
दमक १० का जर्सी नम्बर १४ सचिन लिम्बूले टिमको जितका आगि पहिलो हाफमा १ गोल गरे भने दोस्रो हाफमा थप १ गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उनी खेलको मेन अफ दी म्याच भए ।
त्यस्तै भेट्रानतर्फ दमक १ ले दमक १० लाई ३-० को फराकिलो अन्तरले पाखा लगाउँदै दोस्रो चरण प्रवेश गरेको छ ।
यस अघि वडा नम्बर ९ लाई टाई ब्रेकरमा पाखा लगाउँदै वडा नम्बर ४ दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।
भेट्रान तर्फ भने दमक ९ ले दमक ४ लाई ५-१ को फराकिलो अन्तरले पाखा लगाउँदै दोस्रो चरण प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्तरगत भोलि दमक वडा नम्बर ५ र बेलडाँगी शिविरबीच खेलहरु हुने छन् ।
शुक्रबारबाट सुरु भएको प्रतियोगिता आगामी साउन २२ गतेसम्म सञ्चालन हुने ध्रुवतारा स्पोर्टिङ क्लवका अध्यक्ष मोहन मगर (मिन) ले जानकारी दिए ।
क्लवले एकै पटक वडास्तरीय र भेट्रान समेत गरि दुई वटा प्रतियोगिता सञ्चालन गरिरहेको आयोजकको भनाइ छ । प्रतियोगितामा दमकका १० वटा वडाका र भुटानी शरणार्थी शिविर बेलडाँगीको टीम सहभागी छन् ।
प्रतियोगिताका विजेताले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २५ हजार सहित पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै भेट्रानका विजेतालाई पुरस्कार स्वरूप खसी र उपविजेतालाई कुखुरा प्रदान गरिने क्लवका अध्यक्ष मगरले जानकारी दिए ।
Discussion about this post