दमक । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए)ले दमकमा असोज १० गते विशाल दुमी राई बचाउ अभियान अन्तरगत आयोजना हुन लागेको ‘मनोरञ्जन धमाका’ लाइभ कन्सर्टलाई ५० हजार नगद सहयोग गरेको छ ।
बुधबार झापाको दमकस्थित बेलडाँगीमा आयोजित एक भेलामा युजीएसएका तर्फबाट कोषाध्यक्ष कर्ण गुरुङले सो रकम बिरामी राईको उपचारार्थ सहयोग गरिएको बताएका हुन् । तत्काल अरु नै कामले आफूहरु नेपाल भ्रमणमा रहेका कारण यथोचित सहयोग गर्न नसकेको भन्दै संस्थागत सहयोगवापत सो रकम हस्तान्तरण गरेको कोषाध्यक्ष गुरुङको भनाइ थियो ।
सहयोगका लागि भुटानी शरणार्थी शिविर बेलडाँगीका सामाजिक अगुवा राजमान गुरुङले विशेष पहल गरेको बिरामी विशाल राईका अभिभावक बलु राईले बताए । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचारको लागि असोज १० गते सोमबार साँझ ५ बजेदेखि ९ बजेसम्म हुने कन्सर्टमा सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने छन् ।
दमक-९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने कन्सर्टमा सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले पनि प्रस्तुति दिने छन् । हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतको भनाइ छ ।
कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थैली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो । कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको छ भने विद्यार्थीका लागि २ सय कायम गरिएको आयोजकले जनाएको छ ।
कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको छ भने सपोर्टरमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत छन् । वाईवाई प्यारोसँगको सहकार्य आयोजना गर्न लागिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको छ । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षामा रहेका छन् ।
Discussion about this post