२३ असार २०८२ रौतहत।
रौतहट जिल्लाको परोहा नगरपालिकामा कार्यरत एक कर्मचारीले विगत आठ वर्षदेखि दुईवटा फरक सरकारी निकायबाट तलब तथा सेवासुविधा लिँदै आएको तथ्य फेला परेको छ।
अनिल पासवान नामका ती कर्मचारीले परोहा नगरपालिका–२ अन्तर्गत रहेको एक सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहँदै, अर्कोतर्फ सरकारी हुलाक सेवा कार्यालय गौरबाट समेत सेवा सुविधा लिइरहेको खुलासा भएको हो।
दुवै कार्यालयबाट नियमित रूपमा तलब बुझ्दै आएका पासवानले सरकारी नीतिनियम विपरीत दोहोरो सेवा सुविधा लिएको विषयमा स्थानीय तहमा गम्भीर प्रश्न उठेको छ। यसप्रति नागरिक, जनप्रतिनिधि र समाजिक अभियन्ताहरूले गहिरो चासो देखाएका छन्।
अनियमितता बाहिरिएसँगै सोही वडाका वडा सदस्यले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै, दोषी कर्मचारीसँगै उक्त कार्यमा संलग्न रहेको भन्दै हुलाक कार्यालयका प्रमुख तथा नगरपालिकाका प्रमुख जिम्मेवार पदाधिकारीलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्।
उनले भनेका छन्, “विगत ८ वर्षदेखि दुई सरकारी निकायबाट तलब खाइरहेको यो कर्मचारीमात्र दोषी होइन, यसमा प्रत्यक्ष वा परोक्ष रूपले संलग्न अधिकारीहरू पनि दोषी छन्। राज्यको स्रोत दुरुपयोग गर्नेलाई उन्मुक्ति दिनुहुन्न।”
वडासदस्यले दोषीलाई तत्काल पक्राउ गरी कानुनी उपचारको प्रक्रिया अघि बढाउनुपर्ने मागसहित, गैरकानुनी रूपमा लिएको तलब फिर्ता गराउनसमेत दबाब दिएका छन्।
एकै व्यक्तिले दुई सरकारी सेवाबाट समानान्तर रूपमा तलब लिनु नेपालको कानुनअनुसार स्पष्ट रूपमा निषेध गरिएको कार्य हो।
यस्तो कार्यले सरकारी सेवा आचरण तथा सेवा नियमावलीको गम्भीर उल्लङ्घन गरेको मानिन्छ। यदि प्रमाणित भएमा सम्बन्धित कर्मचारीले न केवल सेवा गुमाउने, तर लिएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने र आपराधिक मुद्दा समेत भोग्नुपर्ने सम्भावना रहेको जिकिर गर्नु भयो ।
स्थानीयका अनुसार सरकारी निकायप्रतिको विश्वासलाई चुनौती दिएको भन्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्। उनीहरूको भनाइमा, यस्ता घटनामा लिप्त कर्मचारी वा पदाधिकारीमाथि उदाहरणीय कारबाही नगरेसम्म यस्ता दुर्व्यवहार दोहोरिरहने छन्।
सोही वडा वडा सदस्यका अनुसार “यो कुनै सामान्य भूल होइन, यो नियोजित भ्रष्टाचारको उदाहरण हो। सरकारी रकम दोहोरो रूपमा लिने कर्मचारी र मिलोमतो गर्ने अधिकारीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन ।
Discussion about this post