दमक – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकका अग्रज नेता समेत रहनुभएका जनप्रतिनिधि सुर्य नेपालले आज एमाले परित्याग गर्नुभएको छ । आज दमकमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर एमाले दमकका अग्रज नेता तथा दमक वडा नम्बर ५ का वडा सदस्य नेपालले एमाले परित्याग गर्नुभएको हो ।
०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको सहमतिलाई पार्टी नेतृत्वले बिर्सेर आफ्नो योगदानप्रति बेवस्ता गरेको वहाँले पत्रकार भेटमा बताउनुभयो । लामो समय एमाले दमकमा विभिन्न तह र तप्काभित्र रहेर काम गरिसकेको र पार्टीले दिएको जिम्मेवारलाई पुरा गर्दै आइरहेको भएपनि यस पटकको निर्वाचनमा उम्मेद्वार छनौटमा देखिएको बिभेदले एमालेभित्र रहिरहन नसक्ने भएकोले आजैको मितिबाट एमाले पार्टी परित्याग गरेको पत्रकारलाई जानकारी गराउनुभयो ।
पत्रकार भेटमा नेता नेपालले पाँच बर्षभित्र वडा नं ५ को जनप्रतिनिधि भएर काम गर्ने अवसर प्रदान गर्नुहुने वडावासीहरुप्रति धन्यवाद ब्यक्त गर्नुभएको छ । साथै, आगामी निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको रुपमा वा कुनै दल बिशेषको सहयोगमा वडा नं ५ मा वडा अध्यक्षका उम्मेद्वार भएर वडावासीको घर दैलोमा आइपुग्ने समेत पत्रकार भेटमा जानकारी गराउनुभएको छ ।
Discussion about this post