दमक – प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ ।
शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको शहीद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको छ ।
शहीद सप्ताहको मुख्य दिन आज प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । विगतमा माघ १६ गते शहीद दिवसको दिन बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गरी लैनचौरको शहीद स्मारकमा पुगेर ज्ञातअज्ञात शहीदको सम्झनामा गरिन्थ्यो ।
यसपालि प्रभातफेरी कार्यक्रम नहुने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
शहीद सप्ताहको पहिलो दिन माघ १० गते शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गरिएको थियो ।त्यस्तै १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र हिजो शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरियो ।
एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
Discussion about this post