कमल कटुवाल, कमल । झापाको कमल गाउँपालिका वडा नं. ७, गेउरीयामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औँ वर्ष पार गरेको अवसरमा बिहिबार विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेकेन्द्रकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले गरेका थिए । प्रमुख अतिथि पोख्रेलबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन र रजत वर्ष शिलालेख अनावरणसमेत गरिएको थियो ।
उक्त समारोहमा संस्थाका संस्थापक सदस्यहरू, पूर्वसञ्चालक सदस्यहरू, पूर्वलेखा समिति सदस्यहरू र सदस्य परिवारका ८ जना जेष्ठ नागरिकहरू गरी जम्मा ६७ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी गौरादह नगरपालिकामा रहेको मोती माध्यमिक विद्यालय सहित स्थानीय पाँच वटा सामुदायिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्रालाई जनही रु. १,००० का दरले छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सदस्यका छोराछोरीहरूमध्ये एस.इ.इं मा उत्तीर्ण दुई जनालाई जनही रु.२,५०० र कक्षा १२ उत्तीर्ण दुई जना छात्रछात्रालाई रु.३,००० का दरले इन्द्रेणी विद्या पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय युवतीहरूले सुमधुर गायन र आकर्षक नृत्य प्रस्तुत गरी सहभागी सबैलाई मनोरञ्जन समेत दिलाएका थिए । यसैगरी संस्थामा गत आ.व. २०७७/२०७८ को बचत, ऋण, रेमिटान्स र दुग्ध कारोबारमा उत्कृष्ट ठहरिएका १७ जना सदस्यहरू पनि पुरस्कृत गरिएका थिए । संस्थाको नियमित कार्यक्रमका रूपमा रहेको राहत वितरण अन्तर्गत दुई जना सदस्यलाई क्यान्सर रोग उपचारका लागि जनही रु.२०,००० र पतिको मृत्युशोकमा रहेकी एक जना सदस्यलाई मृत्युसंस्कार खर्चका लागि रु.१५,००० सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।
रजत जयन्ती समारोहको अघिल्लो दिन १५ गते बुधबारका दिन रक्तदान कार्यक्रम सञ्चालन गरी ५९ पिन्ट रगत सङ्कलन गरेर रक्तदाताहरूलाई संस्थाको रजत वर्ष लोगोअङ्कित टी-सर्टसमेत वितरण गरिएको थियो भने १५ गतेकै साँझ संस्थाको कार्यालयमा सदस्यहरूको उल्लेख्य सहभागितामा दीपावली समेत गरिएको थियो ।
कार्यक्रममा अतिथिका रुपमा मेची बहुउद्देश्यीय सहकारी संस्था लि., कञ्चनजङ्घा बहुउद्देश्यीय सहकारी संस्था लि., पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि., उद्यमी कृषि सहकारी संस्था लि., लखनपुर साना किसान कृषि सहकारी संस्था लि., विभिन्न बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, पत्रकार र स्थानीय जनप्रतिनिधिहरूका साथै संस्थाका पूर्वअध्यक्षहरू तथा सदस्यहरु लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष राजेन्द्र मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका व्यवस्थापक खगेन्द्रप्रसाद भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
Discussion about this post