१असोज २०८२
काठमाडौं,
माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो ।
उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ दाहालको निर्देशन छ, ‘अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नु पर्ने बताए ।’
जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै चुनावी तयारी गर्नुपर्ने उनको भनाइ छ ।
बदलिंदो परिस्थितिलाई आत्मसाथ गरी संगठन सुदृढीकरण गर्दै कांग्रेस एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प रहेको माओवादीको भनाइ छ ।
चुनावलाई सफल बनाएर मात्र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने भन्दै उसले चुनावी तयारीका लागि गृहकार्य सुरु गरेको हो।
अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने छ ।
चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ सचिव देवेन्द्र पौडेलले भने ।
आठ दलसँग विघटित संसद् पुनःस्थापना हुनुपर्ने माग गरे पनि माओवादीले अब चुनावमा जानुको विकल्प नभएको अनौपचारिक निष्कर्ष निकालेको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, सचिव राम कार्कीले चुनावी सरकारलाई सघाउने बताइसकेका छन् ।
तर उनीहरूले चुनावमा जाने वातावरण बनाउन अन्तरिम सरकारलाई आग्रह गरेका छन ।
माओवादीले मध्यपहाडी राजमार्ग अभियान भइरहेका बेला जेन-जी विद्रोह भएपछि स्थगित गरेको छ । अध्यक्ष दाहालसहित नेताहरू दैनिक राजनीतिक गतिविधिमा सक्रिय भइसकेका छन् ।
Discussion about this post