२४ भाद्र २०८२ दमक
जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।
सोम्बार काठमाण्डौको बानेश्वर र सुनसरीमा तथा अन्य शहरहरुमा समेत गरी उनीहरूको ज्यान गएको हो। प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो ।
अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ ।
यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको हो ।
अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । अस्पतालहरूका अनुसार ज्यान गुमाउने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ ।
जेन जी हरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई जेन जी पुस्ता भनिन्छ ।
जेन जी यिनीहरू इन्टरनेटको विकाससँगै हुर्किएका हुन् । विश्वव्यापीकरणको प्रभावले यो पुस्ता धेरै परिवर्तनबारेमा जानकार रहे पनि नेपालमा परम्परागत शासकका कारण रुष्ट छन् ।
यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा आएका हुन्। तर सरकारले सडकमा आएको पहिलो दिन नै जेन जी माथि बर्बरतापूर्वक गोली चलाएको छ ।
Discussion about this post