१७ बैशाख २०८२/
काठमाडौँ, विभिन्न पेशागत माग राख्दै आन्दोलनमा रहेका आवासीय चिकित्सक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच भएको छलफल आज निष्कर्षविहीन बनेको छ।
मंगलबार सिंहदरबारमा सम्पन्न छलफल वार्तामा कुनै ठोस सहमति नजुटेपछि चिकित्सकहरुले वार्ता विफल भएको बताएका हुन।
आवासीय चिकित्सकहरुले वार्ता पछि प्रतिक्रिया दिँदै सरकारमाथि मेडिकल माफिया र विचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्।
उनीहरूले वार्ताको प्रक्रियालाई औपचारिक मात्र भन्दै आफ्ना प्रमुख मागहरूप्रति सरकार गम्भीर नभएको गुनासो गरे।
आन्दोलनरत चिकित्सकहरूको प्रमुख मागमध्ये एक, निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी चिकित्सकसरह ‘आठौं तह’ को मान्यता दिई सेवा र सुविधामा समानता ल्याउनु हो।
यद्यपि केही दिनअघि चिकित्सा शिक्षा सेवा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो, तर सो निर्णयमा ‘आठौं तह’ को स्पष्ट उल्लेख नभएको भन्दै चिकित्सकहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
आवासीय चिकित्सकहरूको आन्दोलनले देशका विभिन्न अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ।
लामो समयदेखि जारी आन्दोलनको समाधानका लागि गरिएको पछिल्लो वार्ता पनि निष्कर्षविहीन भएपछि आन्दोलन अझै चर्किने संकेत देखिएको छ।
आन्दोलन जारी रहने –
छलफल विफल भएपछि आवासीय चिकित्सकहरुले आन्दोलन यथावत् राख्ने निर्णय गरेका छन्।
उनीहरूले जबसम्म आफ्ना मागहरू पुरा हुँदैनन्, तबसम्म आन्दोलन फिर्ता नलिने स्पष्ट पारेका छन्।
यसले चिकित्सा क्षेत्रमा थप अन्योल र सेवा प्रवाहमा असर पर्ने चिन्ता बढेको छ।
अब सरकारको अर्को कदम के हुनेछ भन्ने विषयमा चासो बढेको छ। आन्दोलन समाधानका लागि दुवै पक्षबीच पुनः संवाद हुने सम्भावना खुला भएपनि तत्कालका लागि कुनै सहमति नभएको स्पष्ट भइसकेको छ।
Discussion about this post