८ कार्तिक २०८१ दमकझापा ।
जग्गा विवादका कारण झापाको दमक नगरपालिका – ९ का ३७ वर्षीय यामु निरौलाको हत्या भएको छ ।
मंगलबार दिउँसो ४:२३ बजे दमक-३ स्थित मावा खोला नजिक रहेको विवादित जग्गामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जग्गाका विषयमा विवाद बढ्दै जाँदा भेला भएका मानिसहरूको कुटाइबाट उनको मृत्यु भएको हो । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई आम्दा अस्पताल दमक लगिएकोमा चिकित्सकले उनलाई केही समय पछि नै मृत घोषणा गरेका थिए ।
मदन भण्डारी राजमार्गसँगै जोडिएको जग्गा लामोसमय देखि विवादित थियो । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एस्काभेटर लगेर सम्याउन थालेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन ।
भेला भएका दुई पक्षबिच विवाद बढ्दै जाँदा निरौलामाथि कुटपिट गरिएको र उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएपछि मृत्यु भएको प्रहरीले जनाएको हो ।
निरौलाको हत्यामा संलग्न भएको भन्दै परिवारले ६ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । किटानी जाहेरीमा एमाले कार्यकर्ता बुद्धि थापाको नाम देखेपछि प्रहरीले सुरुमा जाहेरी लिन नमानेको मृतक परिवारको आरोप छ ।
थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । बुद्धि एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाइ, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन् ।
प्रहरीले उनको नाम कटाएर ल्याउनु भनेपछि मृतकका परिवारले इलाका प्रहरी कार्यालय दमकमा केहीबेर हुलदंगा गरेका थिए । दिनभर इप्रका दमकमा मृतकका आफन्तले घेराउ गरेपछि प्रहरीले बिहिबार अपराह्न करिब ५:१५ तिर मात्रै जाहेरी दर्ता गरेको थियो ।
थापा झापामा एमालेको राजनीतिक शक्तिलाई सधैं प्रयोग गर्दै आएका पात्र हुन् । उनीसँग सरुवा-बढुवामा सहयोग माग्दै प्रहरीका उच्च अधिकृत पनि पुग्ने गरेका थिए। ‘प्रहरीले बुद्धि थापाको नाम हटाउन भन्यो ।
उसको नाममा जाहेरी दिन जादा उसको नाम हटाए मात्र जाहेरी लिने भनेपछि केहीवेर तनावको स्थिति पनि सृजना भएको थियो ।
हामीले कडा रूपमा प्रस्तुत भएपछि मात्र जाहेरी दर्ता भयो, मृतकका काका सुजन निरौलाले भने, हाम्रो भतिज जग्गा दलालले बोलाएर गएको हो ।
त्यहाँ गएपछि उनको हत्या भएको छ। सिसिटिभीको फुटेज हामीले पनि हेयौँ । तसर्थ दलालीमा संलग्नलाई कारबाही हुनुपर्छ। हामीले न्याय पाउनुपर्छ।’
थापासँगै दमक-३ का राजु भनिने शेरबहादुर नेम्बाङ, संखुवासभाको मादी नगरपालिका-१० घर भई दमक-३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी-६ का प्रकाश कार्की, उर्लाबारी-७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी परेको हो ।
आरोपितमध्ये दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँकी फरार छन् । आरोपित थापासँगै नेम्बाङ पनि एमाले कार्यकर्ता हुन् ।
संचार माध्यमहरुबाट प्राप्त सिसि टिभी फुटेजका आधारमा दमक-३ मा रहेको विवादित जग्गामा गाडी लिएर पुगेको समूहले निरौलामाथि कुटपिट गरेको देखिन्छ । फुटेजमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ता नम चेम्जोङलाई पनि देखिएको छ ।
उनी निर्वाचनमा ओलीलाई जिताउन अभियान नै लिएर हिँड्ने गरेका थिए । उनीविरुद्ध जाहेरी परेको छैन घटनामा एमाले नेता नम चेम्जोङ र बुद्धि थापा आएका थिए । सुरुमा सामान्य जस्तो देखिन्थ्यो । पछि हत्या हुने गरी कुटपिट भयो,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘यो जग्गामा पहिलादेखि नै लफडा हुने गरेको थियो । यो जग्गामा नम र बुद्धिहरूकै संरक्षण थियो ।
सो जग्गा लामो समयदेखि खाली थियो। विगतमा सँधियारहरूले बाटो खन्दा पनि बाटो भत्काउने, कुटपिट गर्नेजस्ता गतिविधि भएको स्थानीयहरुले बताएका छन ।
गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र दमकका केही एमाले नेताहरूले सो जग्गामा क्रसर स्थापना गर्ने उद्देश्यले लगानी गरेको स्थानीय बताउँछन् । अधिकारीको इन्काउन्टरसँगै क्रसर राख्ने योजना सफल हुन नसकेपछि जग्गा खाली रहँदै आएको छ ।
प्रहरीले ढिला गरी जाहेरी लिएपछि निरौलाको शव पोस्टमार्टम हुने अवस्था छैन । दमक अस्पतालमा राखिएको शवको पोस्टमार्टम बिहीबार गरिने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जाहेरी दर्ता गरेर दर्ता नम्बर लिएर मृतकका आफन्त फर्किएको बताए ।
जाहेरी दर्ता भएको छ घटना बारे थप अनुसन्धान हुने जानकारि गराएका छन ।
Discussion about this post