बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
भण्डारीले ११ हजार ६१३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर २६७ छ ।
बझाङ १ को ‘क’मा नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ८ उमेदवारको जमानत जफत भएको छ ।
निर्वाचन आयोगका अनुसार तीन दलबाहेक अरु दलले कूल सदर मतको १० प्रतिशत मत ल्याउन सकेका छैनन् । शनिबार भएको मतगणनाको परिणाम सोमबार दिउँसो घोषणा गरिएको छ ।
आयोगका अनुसार ६१ हजार ७४८ मतदाता रहेको उक्त क्षेत्रमा करिब ५० प्रतिशत मत खसेको थियो । जसमध्ये २९ हजार ७०५ मत सदर भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ७१ मा धरौटी जफतको व्यवस्था छ ।
जसमा कूल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको धरौटी जफत हुने व्यवस्था गरिएको छ ।
“पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उमेदवारको हकमा यो कुरा लागू हुने छैन,” धारा ७१ को उपधारा १ मा उल्लेख छ ।
बझाङ १ को कूल सदर मत अनुसार धरौटी जोगाउनका लागि उमेदवारले कूल २ हजार ९ सय बढी मत ल्याउनुपर्ने हुन्छ ।
Discussion about this post