मनाङ । जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् ।
एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । पर्यटक तथा स्थानीयलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको एकदमै खाँचो रहेको जिल्ला अस्पतालका प्रशासन विभागका प्रमुख रहमद अन्सारीले बताए ।
“अस्पतालसित एम्बुलेन्स छैन, गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामीको ज्यान जाने हो कि भन्ने त्रास हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकामा भएका एम्बुलेन्स बिग्रिएर थन्किएका छन् ।
जिल्ला रेडक्रस सोसाइटीसित भएको एम्बुलेन्स मनाङ ङिस्याङ गाउँपालिकामा बिग्रिएर थन्किएको छ । सदरमुकाम चामे गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएको छ । “अस्पतालसित आफ्नै एम्बुलेन्स एकदमै आवश्यक छ”, अन्सारीले भने ।
एम्बुलेन्सका लागि रेडक्रसको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पटक–पटकको बैठकमा एम्बुलेन्सको आवश्यकताबारे छलफल गरी सम्बन्धित निकायसँग माग गर्दै आएको बताए ।
“स्थानीयलाई सहज स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउन प्रतिबद्ध भई सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने । एम्बुलेन्स अभाव हुँदा गत वर्ष बिरामी हुँदा हेलिकप्टर चार्टड गरेर पोखरा गएको स्थानीय कर्मछिरिङ गुरुङले बताए ।
सरकारले एम्बुलेन्स सेवा उपलब्ध गराएको अवस्थामा नागरिकले सास्ती भोग्नु नपर्ने उनको भनाइ छ । मनाङमा कोही गम्भीर बिरामी भएमा अस्पताल पुर्याउन हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । तर यहाँको मौसम अधिकांश समय प्रतिकूल रहने हुँदा सडककै भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् ।
Discussion about this post