ताप्लेजुङ, १२ पुस – पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले बजारसमेत पाउन थालेको छ ।
गोडमेल गर्दा र टिप्दा निस्कने अलैँचीको सरालाई मसिनो बनाएर उद्यमीले लाखौँको कमाइ गर्न थालेका छन् भने यसरी खोलिएका उद्योगमा स्थानीय महिलाले रोजगारीसमेत पाउन थालेका छन् ।
सदरमुकाम फुङलिङमा विगत सात वर्षदेखि चन्दन फाइबर उद्योग खोलेर सञ्चालन गर्दै आउनुभएकी माया गुरुङले अलैँचीको रेसाजन्य सामानबाटै वार्षिक लाखौँको कमाइ गर्दै आएको जानकारी दिनुभयो । गुरुङका अनुसार अलैँचीको रेसाबाट हाते झोला, पर्स, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरेको छ । रेसाबाट बनेको सामान हेर्दा आकर्षक देखिने भएकाले यसको माग बढ्दोरुपमा रहेको गुरुङले बताउनुभयो । विशेषगरी काठमाडौँ, पोखरालगायत ठूला सहरमा उहाँले उत्पादन गरेका सामान पुग्छन् । ति ठाउँबाट विदेशमा समेत निर्यात हुने गरेको उहाँले बताउनुभयो ।
जङ्गलमा त्यसै खेर गइरहेको अलैँचीको रेसा सङ्कलन गरेर उद्योग चलाउनुभएकी गुरुङले स्थानीय १५ जना महिलालाई रोजगारीसमेत दिनुभएको छ । रोजगारी पाउनेमा प्रायः ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बालबच्चा पढाउन बसेका महिला छन् । कामका आधारमा पारिश्रमिक दिएर उनीहरुलाई रोजगार प्रदान गरिएको हो । अलैँची बगानबाट सरा सङ्कलन गरेर ल्याउनेलाई समेत पारिश्रमिक दिएकाले आफ्नो उद्योगबाट धेरैलाई फाइदा पुगेको उहाँको भनाइ छ ।
यता सदरमुकाममै पाथीभरा कोसेलीघर सञ्चालन गर्दै आउनुभएकी विष्णु श्रेष्ठले समेत अलैँचीको रेसाबाट विभिन्न सामान बनाउँदै आउनुभएको छ । सुरु सुरुमा बजार नपाउँदा समस्या भए पनि अहिले माग बढ्दै गएकाले उत्पादन पनि बढाउन थालेको श्रेष्ठले बताउनुभयो । उद्यमीले अलैँचीको रेसाजन्य सामान बनाउन थालेपछि घरेलु तथा साना उद्योगको कार्यालयले समेत उनीहरूलाई आवश्यक सहयोग गर्न थालेको छ । पछिल्लो समय अलैँचीको सरालाई प्रयोग गरेर घरेलु प्रयोगमा आउनेलगायतका सामान उत्पादन हुन थालेकाले आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख युवराज घोर्साईले बताउनुभयो । रासस
Discussion about this post