कमल, १६ मङ्सिर – इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि., कमल ७ को २६ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ आज शुक्रबार सम्पन्न भएको छ ।
संस्थाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा सदस्यपरिवारका ८ जना जेष्ठ नागरिकहरूलाई नगद रू.१,००५ सहित सम्मान गरिएको थियो भने गौरादह नगरपालिकामा रहेको मोती माध्यमिक विद्यालयसहित स्थानीय पाँच वटा सामुदायिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्रालाई जनही रू १,००५ का दरले छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी सदस्यका छोराछोरीहरूमध्ये उत्कृष्ट जी.पी.ए. ल्याई एस्.ई.ई उत्तीर्ण भएका दुई जनालाई जनही रू २,५०० र कक्षा १२ मा उत्तीर्ण चार जना छात्रछात्रालाई रू ३,००० का दरले इन्द्रेणी विद्या पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय डान्स सेन्टरका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जनसमेत दिएका थिए । यसैगरी संस्थामा गत आ.व.को बचत, ऋण, रेमिटान्स र दुग्ध कारोबारमा उत्कृष्ट ठहरिएका २० जना सदस्यहरू पनि पुरस्कृत हुनुभएको थियो । संस्थाको नियमित कार्यक्रमका रूपमा रहेको राहत वितरणअन्तर्गत पतिको मृत्युशोकमा रहेकी एक जना सदस्यलाई मृत्युसंस्कार खर्चका लागि रू २५,००० सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घ लिमिटेड, कमल गाउँपालिकास्तरीय सहकारी समन्वय समिति, संस्थापक अध्यक्ष, स्थानीय सहकारी संस्थाहरूका प्रतिनिधिहरू र संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो ।
यस्तै स्थापना दिवसकै अवसरमा मङ्सिर १३ गते मङ्गलबार मेची आँखा अस्पताल र आई केयर फाउन्डेसको प्राविधिक सहयोगमा ३२० जना व्यक्तिहरूको निःशुल्क आँखा परीक्षण गरी औषधी वितरण गर्नुका साथै २१ जना नेत्ररोगीहरूको मोतियाबिन्दुको सफल शल्यक्रियासमेत गरिएको थियो ।
त्यसैगरी, मंसिर १५ गते रक्तदान कार्यक्रम सञ्चालन गरी ६१ पिन्ट रगत सङ्कलन गरेर रक्तदाताहरूलाई संस्थाको लोगोअङ्कित टीसर्टसमेत वितरण गरिएको संस्थाका कर्जा प्रमुख युवराज ओलीले जानकारी दिनुभएको छ ।
Discussion about this post