काठमाडौं । आज नाग पञ्चमी । हिन्दू धर्मावलम्वीहरु आज मंगलबार नागको पूजा अर्चना गरी यो पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागस्थान तथा घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गर्ने चलन छ । मूलढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छी लगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको छ ।
बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी अष्टनागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अग्निभय र विषयुक्त जीवको भय नहुने मान्यता रहेको छ । नागस्थानहरुमा पनि बिहानैदेखि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।
वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
Discussion about this post