काठमाडौँ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।
अमेरिकाको न्यूयोर्कमा सन् १९०९ मा पहिलोपटक कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानताका विरुद्ध आन्दोलन गरेका थिए। यहिबाट शुरुवात भएको महिला दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि मनाउने गरिन्छ।
सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले महिलाको अधिकार र आन्दोलनको समर्थनमा डेनमार्कको कोपनहेगनमा १७ देशका एकसय जना महिला सहभागिले सम्मेलन नै गरे। त्यसताका पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड लगाएतका देशमा महिला दिवस मनाउन सुरु गरिएको थियो ।
अहिले विश्वका प्राय देश लगायत नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनलाई जोडेर यो दिवस मनाउन थालेका छन्। नेपाल सरकारले यस दिवसका दिन आज सार्बजनिक बिदा नै दिएको छ।
यसैबीच, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिँदै महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।
Discussion about this post