काठमाडौं । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामरा चोरी भएका छन्। चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको जानकारी दिए।
बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामरा राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ। आचार्यले बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामरा राखिएको जानकारी दिए।
निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामेरा राखेको आचार्यले बताए। बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामरा अन्य प्रयोजनका लागि काममा नआउने बताए। क्यामरा जडान गरिएको तेस्रो दिनमा क्यामरा हराएको भन्दै क्यामराको सुरक्षा गर्नु सबैको दायित्व भएको आचार्यले बताए।
बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामरा राखेको छ। बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ। बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए। -गोरखापत्रबाट
Discussion about this post