दमक । मनकामना केबलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको छ।
केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।
उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ।
कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।
लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ।
चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।
यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ।
Discussion about this post