२० पौष २०८२ काठमडौ,
लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्यो।
स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित चार ठाउँमा सैन्य आक्रमण गर्दै ट्रम्पले लामो समयदेखिको चेतावनीलाई यथार्थमा बदलेका हुन्।
घटना भएको केही घन्टापछि मात्रै ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण गरेको पुष्टि गर्दै आफ्नो ट्रुथ सोसलमा पोस्ट लेखेका थिए।
उनले ठूलो परिमाणमा सफलतापूर्वक हमला गरी त्यहाँबाट राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देशबाहिर निकालिएको भनेका छन्।
मदुरो कहाँ छन् भन्ने दुवै पक्षबाट खुलेको छैन।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले मदुरो आक्रमण यता देखिएका छैनन् भनेर लेखेको छ। भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले भने मदुरोकै निर्देशनमा देशमा संकटकाल घोषणा गरेको र देशव्यापी सेना परिचालन गरिएको दाबी गरेका छन्।
अन्योलबीच अमेरिकी अधिकारीहरूले पनि मदुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको विशेष टोली डेल्टा फोर्सले पक्राउ गरेको भनेर विभिन्न मिडियासँगको कुराकानीमा बताएका छन्।
ट्रम्पले पक्राउ गरेको दाबी गरेका मदुरोको पृष्ठभूमी के हो र किन उसलाई अमेरिकाले पक्राउ गर्यो? किन ट्रम्पको निशानामा परे भन्ने चासो बढेको छ।
६३ वर्षीय मदुरो लोकप्रिय नेता ह्युगो चाभेजका लामो समयका सहयोगी हुन्। क्यान्सरका कारण चाभेजको सन् २०१३ मा निधन भएको थियो।
त्यसपछि उनको उत्तराधिकारीका रूपमा मदुरो सत्तामा पुगेका थिए भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उल्लेख गरेको छ। तर उनीसँग जनाधार भने थिएन।
मदुरो पूर्व बस चालक र श्रमिक संघका नेता थिए। उनको कार्यकालमा भेनेजुएलमा निरन्तर राजनीतिक अशान्ति र गहिरो आर्थिक संकट झेल्दै आएको पनि सिएनएनले लेखेको छ।
अमेरिकी प्रतिबन्धको विस्तार र देशको मुख्य आयस्रोत मानिने तेल उद्योगको प्रबन्ध राम्ररी नहुँदा मदुरोको कार्यकालमा आर्थिक संकट चरम अवस्थामा पुगेको बताइन्छ।
सन् २०१७ मा मदुरोले विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभालाई छलेर राष्ट्रपतिको कार्यकाल बढाएका थिए।
यस कदमको विरोधमा राजधानी कराकासमा हप्तौँसम्म सडक प्रदर्शन भएका थिए। जसले देशलाई थप अस्थिर बनाएको थियो।
त्यसपछि सन् २०१८ मा भएको राष्ट्रपतीय निर्वाचनमा मदुरोले फेरि ६ वर्षे कार्यकाल जितेको घोषणा गरियो। तर विपक्षी दलहरू र अन्तर्राष्ट्रिय समुदायले उक्त निर्वाचनलाई अवैध भन्दै अस्वीकार गरे। यही कारण मदुरोको वैधतामाथि अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठ्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेनेजुएलामा उनी अवैध राष्ट्रपति भएको बताउँदै आएका छन्।
सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा मदुरोमाथि नार्को आतंकवादको आरोप लगाउँदै अभियोग दर्ता गरेको थियो।
तत्कालीन अमेरिकी महान्यायाधिवक्ता विलियम बारले भेनेजुएला शासन ‘अपराध र भ्रष्टाचारले ग्रस्त’ रहेको टिप्पणी गर्दै मदुरो र उनका उच्च तहका सहयोगीहरूले कोलम्बियाली विद्रोही समूह फार्कसँग मिलेर अमेरिकामा ठूलो परिमाणमा कोकिन भित्र्याएको आरोप लगाएका थिए।
सन् २०२४ को निर्वाचनमा पनि धाँधली गरेर जितेको आरोप उनीमाथि छ।
भेनेजुएलाका विपक्षी दल र केही अन्तर्राष्ट्रिय निर्वाचन अनुगमन संस्थाहरूले उक्त निर्वाचन विश्वसनीय नभएको बताएका थिए। तर मदुरोले सबै आरोप अस्वीकार गर्दै आएका छन्।
मदुरो र उनका निकट सहयोगीहरूले आफूलाई क्रान्तिकारी बताउँदै सत्ता छोड्न नचाहनुको एउटा कारण उनीहरूविरुद्ध अमेरिकामा दर्ता भएका आपराधिक अभियोग र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रहेको विश्लेषण गरिन्छ।
सत्ता बाहिरिएपछि कानुनी कारबाही र अन्तर्राष्ट्रिय दबाब झेल्नुपर्ने डरले पनि उनीहरू शक्ति सम्हालिरहन चाहन्छन् भन्ने अमेरिकी अधिकारीहरूको तर्क छ।
यसअघि सन् २०१९ मा ट्रम्पले ‘म्याक्सिमम प्रेसर’ अभियानमार्फत मदुरोलाई सत्ताबाट हटाउने प्रयास गरेका थिए। कडा आर्थिक प्रतिबन्ध, कूटनीतिक अलगाव र विपक्षी नेता जुआन ग्वाइदोको समर्थनका बाबजुद मदुरो सत्ता टिकाउन सफल भएका थिए।
‘उनीहरूले हामीलाई क्रान्तिको बाटोबाट कहिल्यै हटाउन सक्ने छैनन्। सधैं विजय, सधैं विजय, सधैं विजय,’ गत वर्ष चुनावी कार्यक्रममा मदुरोले भनेका थिए।
ट्रम्पले दोस्रो कार्यकालमा मदुरो शासनमाथि आर्थिक र सैन्य दबाब अझ तीव्र बनाउँदै आएको छ।
अगस्ट ७ मा अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले मदुरोको पक्राउमा सहयोग गर्ने सूचनाका लागि ५ करोड अमेरिकी डलर इनाम घोषणा गरेकी थिइन्।
मदुरो आफ्नो पत्नी सिलिया फ्लोरेसलाई ‘फर्स्ट कम्ब्याटेन्ट’ भन्छन्।
उनी पछिल्लो एक दशकदेखि राष्ट्रिय सभाकी उपसभासद (डेप्युटी) रहँदै आएकी छन् र सत्ताको आन्तरिक वृत्तमा प्रभावशाली पात्रका रूपमा चिनिन्छिन्।
सिलिया फ्लोरेस पक्राउ परेको दाबी गरेसँगै फ्लोरेस पनि अन्तर्राष्ट्रिय चासोको केन्द्रमा परेकी छन्।
सिलिया फ्लोरेस सत्तारुढ दलकी दीर्घकालीन कानुनी सल्लाहकार रहँदै आएकी छन्।
सन् १९९० को दशकको सुरुवातमा उनले तत्कालीन क्रान्तिकारी नेता तथा पछि राष्ट्रपति बनेका ह्युगो चाभेजको प्रमुख वकिलका रूपमा काम गरेकी थिइन्।
चाभेज सन् १९९९ मा राष्ट्रपति बनेपछि फ्लोरेस पार्टीभित्र उक्लिँदै सांसदसम्म पुगिन् र सत्ता संरचनामा मजबुत स्थान बनाइन् भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
चाभेजको क्यान्सरका कारण निधन भएपछि सन् २०१३ मा मदुरो राष्ट्रपति बने।
त्यसपछि चाँडै नै मदुरो र फ्लोरेसको विवाह भएको थियो।
विवाहपछि फ्लोरेसको राजनीतिक हैसियत झनै बलियो बन्दै गएको मानिन्छ, र उनी भेनेजुएलाको सत्ताको ‘इनर सर्कल’को प्रमुख सदस्यका रूपमा चिनिन्छिन्।
अमेरिकी ट्रेजरी विभागले सन् २०१८ मा फ्लोरेसलाई भेनेजुएलाको सम्पत्ति लुटपाट गर्न र सैन्य तानाशाहीलाई सहज बनाएको आरोप लगाउँदै प्रतिबन्ध सूचीमा राखेको थियो।
उनीसहित वरिष्ठ सरकारी व्यक्तिहरूमाथि आर्थिक र यात्रा प्रतिबन्ध लगाइएको थियो।
गत महिना अमेरिकाले फ्लोरेसको परिवारका केही सदस्यहरूलाई पनि भ्रष्टाचारको आरोपमा आर्थिक प्रतिबन्ध लगाएको थियो। तीमध्ये उनका दुईजना भान्जा पनि परेका थिए।
अमेरिकामा कोकिन तस्करीको अभियोगमा दोषी ठहर भएका फ्लोरेसका भान्जाहरूलाई सन् २०२२ मा अमेरिका–भेनेजुएला बीचको कैदी अदलाबदलका क्रममा बाइडेन प्रशासनले क्षमादान दिएको थियो।
फ्लोरेस र उनका परिवारमाथि लागेको प्रतिबन्ध र आरोपले मदुरो शासनमाथिको अन्तर्राष्ट्रिय दबाबलाई झन् तीव्र बनाएको छ।
यद्यपि भेनेजुएला सरकारले यी सबै आरोप राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएको छ।
उनीहरूलाई अमेरिकाले अब के गर्छ भन्ने विषय राष्ट्रपति ट्रम्पले केही बेरमा गर्ने पत्रकार सम्मेलनमा खुलाउनेछन्।
एकजना अमेरिकी सिनेटरले भने रुबिओ र उनकी श्रीमतीलाई अमेरिकामा चलिरहेको मुद्दामा कारबाही गरिने बताएका छन्।
सिएनएनसँग कुरा गर्दै ती सिनेटरले विदेशमन्त्री मार्को रूबिओले आफूसँग मदुरोको विषयमा कुराकानी गरेको र उनीहरूलाई अमेरिकामा मुद्दा चलाउने तयारी रहेको भनेको बताएका छन्।
Discussion about this post