नेपाली भाषि भुटानी शरणार्थी समुदायको कथामा आधारित नेपाली फिल्म ‘प्रवासी जीवन’ ले अमेरिकामा आयोजित प्रिमियरमा दर्शकको अत्यधिक माया र प्रशंसा बटुल्न सफल भएको छ।
जुलाई १२ तारिखमा भएको यो विशेष प्रिमियरले फिल्मप्रति दर्शकको गहिरो सम्बन्ध र संवेदनशीलताको अनुभूति गराएको छ। फिल्म हेर्न आएका दर्शकहरू भावुक हुँदै, ताली र प्रशंसाका शब्दहरूसहित हलबाट निस्किएका थिए।
फिल्मको कथा एउटा युवाको वरिपरि घुम्छ, जो शरणार्थीको जीवन बाँच्दै अमेरिका आइपुग्छ। ऊ उज्यालो भविष्य, स्वतन्त्रता र मानव अधिकारको अभ्यासका लागि आफ्नो परिवारसहित नयाँ देशमा पाइला राख्छ।
तर, त्यही जीवनले ऊलाई मानसिक स्वास्थ्यको गम्भीर समस्यातर्फ लैजान्छ। साँचो घटनाबाट प्रेरित यस कथाले आप्रवासी समुदायको दुःख, संघर्ष र मौन पीडालाई पर्दामा उजागर गरेको छ।चलचित्रको निर्देशन श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा गरेका छन् भने लक्ष्मण अधिकारी सहायक निर्देशकको रूपमा संलग्न छन्। फिल्मको छायांकन अमृत विश्वले गरेका छन्, सम्पादन र रंग संयोजन राम अधिकारीको रहेको छ। कथा तथा पटकथा श्याम क्षेत्रीकै सिर्जना हो।
महानायक राजेश हमालको सशक्त अभिनयले फिल्मलाई अझ गहिरो बनाएको छ भने सरिता लामिछाने, बुढी तामाङ, श्याम क्षेत्री, लोकेश भित्रेकोटी, गगन सुवेदी, दिव्या न्यौपाने, एन्जेला बस्नेत लगायतका कलाकारहरूले पनि दर्शकको मन जित्न सफल भएका छन्।फिल्मका प्रमुख प्रायोजकहरूमा मेघ सुवेदी, देवी केसी, अशोक उप्रेती र यधाप गजमेर रहेका छन्, जसको अमूल्य सहयोगले यो परियोजना सफल भएको निर्माण पक्षले जनाएको छ।प्रवासी जीवन’ अब चाँडै नेपालमा सार्वजनिक प्रदर्शन हुने छ। साथै, अन्य देशहरूमा रहेका नेपाली समुदायलाई लक्ष्य गर्दै विश्वव्यापी प्रदर्शनको तयारी समेत सुरु भइसकेको छ। आप्रवासीको कथा बोकेको यो फिल्मले जहाँसुकै रहेका नेपाली दर्शकको मन छुने विश्वास गरिएको छ।
Discussion about this post