नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनहरु एकसाथ सडकमा उत्रिने भएका छन्।
माओवादीका जनवर्गीय संगठनहरुले हिजो (मंगलबार) दिउँसो साढे ३ बजे काठमाडौं नयाँ बानेश्वरमा विरोध प्रदर्शनको कार्यक्रम गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सहायक संगठन योङ्ग कम्युनिष्ट लिगका अध्यक्ष सुवोध सेर्पालीले दिउँसो साढे ३ बजे विरोध प्रदर्शन गरिएको बताए । ‘
उज्यालो नेपालका नायक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति हाम्रो घोर आपत्ति छ । देशको लागि मरिमेटेर काम गर्ने कर्मचारी र देशभक्तहरुको यो घोर अपमान पनि हो ,।
हाम्रो पार्टीको सबै जनवर्गीय संगठनहरु सडकमा उत्रिएर सरकारलाई गल्ती सच्याउन दवाब दिन्छौं,’- सेर्पालीले भने ।
विरोध प्रदर्शनमा वाईसीएल, विद्यार्थी संगठन (अखिल क्रान्तिकारी), अखिल नेपाल मजदुर महासंघ, अखिल नेपाल खेलकुद महासंघ, अनेमसंघ (क्रान्तिकारी) लगायतका जनवर्गीय संगठनहरु सहभागी थिए।
अध्यक्ष सेर्पालीले सरकारले गल्ती नसच्याए आन्दोलन देशभर थप सशक्त बनाइने बताए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको सालो हुन् । कुलमानलाई हटाइएको बारे अहिले सर्वत्र आलोचना भइरहेको छ ।
Discussion about this post