दमक – दमक नगरपालिकाले दमक–१ का १०७ बर्षिय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय बर्ष माथिको ६ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक-८ का १०६ बर्षिय कुबेरबहादुर श्रेष्ठ, दमक-३ की १०६ बर्षिया नरमाया सोराली, दमक-१० की १०५ बर्षिया नर्वदा खनाल, दमक-७ की १०५ बर्षिया मिनादेवी कार्की र दमक-१ की १०१ बर्षिया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।
नगरपालिकामा उपलब्ध तथ्याकंका आधारमा दमककै ज्येष्ठ १०७ बर्षिय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिक रुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए ।
उनीहरुलाई दमक नगरपालिका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भटट्राई प्रसाइँ लगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ र अपाङगता भएकाहरुलाई घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले तीन/तीन महीनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधीहरु समेत नि:शुल्क उपलव्ध गराउदै आएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, कर्मचारी लगायत सामाजिक, राजनीतिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post