भद्रपुर – आगामी मंसिर ४ गते हुने आम निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको व्यवस्था मिलाउन माग गरिएको छ ।
झापाको बिर्तामोडमा सोमबार नेत्रहीन युवा संघ नेपाल झापाले पत्रकार भेटघाट गरी त्यस्तो माग गरेको हो । संघले निर्वाचनको दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायात, मतदानस्थललाई सकेसम्म पहुँचयुक्त बनाउन, सहयोगीको व्यवस्था गरिदिन, बहिरा व्यक्तिहरूसँग सांकेतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति अपाङ्गतामैत्री व्यवहार गर्ने लगायतका माग राखेको छ ।
संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ११ तथा अपाङ्ता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि राजनीतिमा सहभागिता हुन पाउने हक सुनिश्चित गरेको संघका अध्यक्ष दिलकुमार राजवंशीले बताउनुभयो ।
“अपाङ्गता भएका व्यक्तिको भौतिक, सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण मताधिकारको प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम छ”, उहाँले भन्नुभयो, “अपाङ्गता भएका कोही पनि मताधिकारबाट बञ्चित हुनुहुँदैन ।”
संविधानले दिएको अधिकार उपभोग गर्न पाउन सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको र ती निकायले अग्रसता देखाउनु पर्ने उहाँले बताउनुभयो । संघले आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ११ बुँदे ध्यानाकर्षणपत्र समेत बु्झाइसकेको छ ।
Discussion about this post