सप्तरी – सप्तरीमा पाँच ज्येष्ठ नागरिक र पाँच जेहेन्दार विद्यार्थीलाई आज धानुक मण्डल उत्थान समितिले सम्मान गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौमा आयोजित कार्यक्रममा विष्णुपुर गाउँपालिका–७ का ९४ वर्षीया सजनीदेवी मण्डल, छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ८४ वर्षीय बौकाई मण्डल, राजगढ गाउँपालिका–५ मलेकपुरका ८९ वर्षीय खुशीलाल मण्डल र ८१ वर्षीया अजानबती देवी धनुकाइन तथा भारत विहार डकहीका ८३ वर्षीय नथुनी मण्डललाई दोसल्ला, फूलको माला लगाएर सम्मान गरिएको हो ।
यसैगरी एसइईतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीका अङ्कित मण्डल, डाक्नेश्वरी नगरपालिका–८ भीमपुरका कल्पनाकुमारी मण्डल, राजगढ गाउँपालिका–४ पिपराका शिवकुमार मण्डल तथा विष्णुपुर गाउँपालिका–७ का सन्तोषकुमार मण्डल र वसन्तकुमार मण्डललाई शैक्षिक सामग्री र प्रमाणपत्र प्रदान गरिएको छ ।
धानुक मण्डल उत्थान समिति प्रागना जगदर क्षेत्र नं २ र ३ का राजकुमार मण्डलको अध्यक्षता एवं विष्णुपुर गाउँपालिका–५ का वडाध्यक्ष जिबछ मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सचिव अमरनाथ मण्डललगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । (रासस)
Discussion about this post