काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले खेलको दशौँ मिनेटमा एकमात्र निर्णायक गोल गरे । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले दिएको ब्याक फ्लिक पासमा सुजलले वान टच गोल गरे । मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार दोस्रो हार व्यहोर्यो ।
७० औं मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्डको दर्शन गराएका थिए । त्यसपछि दुबै टोली दश खेलाडीमा सिमित बनेको थियो ।
त्यस्तै रेफ्री महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्याण्डको बाटो देखाएका थिए । त्यसको ७९औं मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।
जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा पनि नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो ।















Discussion about this post