१२ असार २०८३ खोटॅाग ।
नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको दशौं पूर्ण बैठक दिक्तेलमा सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा केन्द्रले अघि सारेको ‘मिसन जागरण अभियान’लाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष यादवशेन राई औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित हुनुभएको घोषणा गरिएको छ।
उहाँको पार्टी प्रवेशले जिल्लामा एमालेको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ। साथै, अन्य राजनीतिक पृष्ठभूमिबाट आएका तथा लामो समयदेखि निष्क्रिय रहेका नेता–कार्यकर्तालाई पनि पार्टीको मूलधारमा समेट्दै संगठन विस्तारलाई तीव्रता दिने रणनीति तय गरिएको जनाइएको छ।
त्यसैगरी, विगतमा विभिन्न कारणले पार्टीको औपचारिक जिम्मेवारीमा नरहनुभएका दर्जनौं नेता–कार्यकर्तालाई उनीहरूको अनुभव, क्षमता र योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।
आगामी दिनमा वडा, पालिका तथा जिल्ला तहसम्म पार्टी संगठनलाई थप चलायमान बनाउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउने, सदस्यता विस्तार, संगठन सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकतामा राखेर केन्द्रले घोषणा गरेको ‘मिसन जागरण अभियान’ प्रभावकारी रूपमा सञ्चालन गर्ने विस्तृत कार्ययोजना समेत बैठकले पारित गरेको जनाएको छ।















Discussion about this post