ईलामको काठ तस्करिमा प्रहरिको मिलेमतो देखिएको आरोप ।

166
SHARES
518
VIEWS
Spread the love

११ श्रावण २०८२ईलाम

ईलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको र यसमा प्रहरीकै मिलेमतो रहेको स्थानीय युवाहरूले आरोप लगाएका छन्। उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको युवाहरूको आरोप छ।

इलामको रोङ गाउँपालिका-२ स्थित बर्फल्याङ्ग सामुदायिक वन लगायतका वनहरूबाट काठ तस्करी हुँदै आएको सम्बन्धमा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस क्षेत्रका सचेत युवाहरूले तस्करी रोक्न विभिन्न प्रयत्न गरे पनि प्रहरीकै संलग्नताले पछिल्लो समय हामी विरुद्ध नै धाक धम्की र फसाइदिने जस्ता अभिव्यक्तिले गर्दा आज हामी आम पत्रकार माझ हाम्रो ठाउँको वास्तविकता उजागर गर्न बाध्य छौ ।’

साउन ३ गते शनिवार बिहानको राति स्थानीय युवाको सक्रियता र सशस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा अर्जुनधारा-१ बाट मे १ ज ११६५ नम्बरको पिक अप गाडीमा लोड गरिएको सखुवाको ३८.४८ क्युफिट चिरान काठ बरामद गरेर प्रहरीलाई जिम्मा लगाइएको थियो।

तर, प्रहरी चौकी बर्फल्याङ्गकी असई छत्रा श्रेष्ठसहितका प्रहरी र केही राजनैतिक दलका नेताहरूले तस्करीमा संलग्नलाई उन्मुक्ति दिनुका साथै सवारी साधन समेत छुटाउने खेल भइरहेको घटनाले स्थानीय सशङ्कित भएको पत्रकार सम्मेलनमा बताइएको छ।

उनीहरूका अनुसार उक्त घटनामा वनका पूर्व अध्यक्ष लक्ष्मीकान्त घिमिरेको समेत प्रत्यक्ष संलग्नता रहेको ठहर छ। उनले आफूसँग ठूला नेता र शक्ति केन्द्रमा चिनजान रहेको भन्दै यस्ता घटनाले केही फरक नपर्ने अभिव्यक्ति दिएकाले सचेत युवा थप सशङ्कित भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

गलत क्रियाकलाप विरुद्ध चालेको अभियानमा जिल्ला प्रहरी कार्यालय इलाम र सब डिभिजन वन कार्यालय सुरुङ्गाले पनि चासो नदिँदा समस्यामा पर्दै गएको पत्रकार सम्मेलनमा उपस्थित स्थानीयले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘गाउँमा हामी पनि विभिन्न पेशा र व्यवसाय गर्दै आएका छौं। यस सन्दर्भमा ‘देखाइदिने’, ‘तिमीहरूले केही गर्न सक्दैनौँ’, ‘हामीसँग पावर छ’, ‘हामी विरुद्ध लाग्नेलाई फसाइदिन्छौं’ जस्ता अभिव्यक्तिले कतै विकृति विरुद्ध आवाज उठाउने हामीलाई फसाउने षड्यन्त्र त भएको छैन?’

‘यतिका दिनसम्म घटनामा प्रत्यक्ष संलग्न असईमाथि छानबिन नहुनु, तस्करमा संलग्न कानुनी दायरामा नआउनु, सामुदायिक वनले अहिलेसम्म चासो नदेखाउनुले तस्करीको जालो कहाँसम्म फैलिएको छ भन्ने आशंका गर्ने प्रशस्त आधार रहेको छ’ विज्ञप्तिमा भनिएको छ।

विकृति विरुद्ध आवाज उठाउनेहरूलाई कसैले फसाउने खेल भएको पाइए त्यस विरुद्ध पनि सचेत भएर खबरदारी गरिदिन विकृतिका विरुद्ध स्थानीय सचेत युवाहरूले अपिल गरेका छन्।

पत्रकार सम्मेलनमा विकृतिका विरुद्ध स्थानीय सचेत युवाहरू दिनेश लामिछाने, नारदमणि दाहाल, कर्णबहादुर खड्का, सुशन विष्ट, कमल श्रेष्ठ, राम खड्का, मदन कार्की, तेजकुमार आचार्य, राजन गुरुङ (टार्जन), भवानी अधिकारी, श्याम ढकाल लगायतको उपस्थिति रहेको बताईएको छ ।


Spread the love

सम्बन्धित समाचार

Next Post

Discussion about this post

error: Content is protected !!