२०८२ साउन २० – झापाको दमकस्थित अर्किड एकेडेमिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। विद्यालयमा बढ्दो बालबालिकाको दन्त समस्या र अभिभावकहरूको स्वास्थ्यप्रतिको चासोलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा ४७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन
विद्यालयको आयोजना र ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक तथा २५ जना शिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको थियो। दाँतको सघन जाँच, नाक, कान, घाँटीको प्रारम्भिक परीक्षण र मुख स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
ओम शान्ति डेन्टल क्लिनिकका पाँच सदस्यीय चिकित्सक टोलीको सहभागितामा सञ्चालन भएको शिविरमा प्रत्येक बिरामीको विवरण फारममा संकलन गरी अभिभावकलाई रिपोर्ट कार्ड प्रदान गरिएको थियो। परीक्षणमा देखिएका समस्याअनुसार प्राथमिक उपचार सल्लाह र आवश्यक भएमा थप उपचारको सिफारिस गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मी नेपालले विद्यार्थी र अभिभावक समुदायको स्वास्थ्यप्रतिको जागरूकता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्य स्वास्थ्य क्षेत्रहरूलाई समेटेर आगामी दिनमा थप शिविर आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।
दन्त चिकित्सक डा. कास्मी श्रेष्ठले बालबालिकामा मुख सफाइको सही तरिका सिकाउनुलाई प्राथमिकता दिइएको उल्लेख गर्दै नियमित सरसफाइबाट धेरै दन्त समस्याहरू समाधान गर्न सकिने बताउनुभयो।
ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले यस शिविरको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई दन्त स्वास्थ्यका बारेमा सन्देश फैलाउन मद्दत पुगेको बताए। साथै, हस्पिटलले एक्सरे र ओपिडी सेवामा नि:शुल्क सेवा र अन्य दन्त उपचारमा २० प्रतिशत छुट उपलब्ध गराइरहेको जानकारी दिएका छन्।
ओम शान्ति डेन्टल क्लिनिक र अर्किड एकेडेमिको प्रयासले सम्पन्न स्वास्थ्य शिविरले विद्यालय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















Discussion about this post