२५ पौष २०८१ पाँचथर मिक्लाजुङ्ग ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमसँग सिकार खेल्न गएका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएको घटना एक महिनासम्म गुपचुप राखिएको खुलेको छ।
•घटनाबारे प्रहरीमा उजुरी नगर्न दबाब बढेपछि युवकको परिवार मिक्लाजुङ-७ लिम्बाबाट विस्थापित भएको छ ।
स्थानीयका अनुसार तेजबहादुर गत मंसिर २१ मा अपराह्न अध्यक्ष माखिमसँग सिकार खेल्न जैसीभीर जंगल गएका थिए। करिब १० जनाको समूहले दुईवटा घोरल मारेको थियो।
मारेका घोरल कन्याटारमा ल्याएर अध्यक्ष माखिमसहित केही व्यक्तिले ‘इमर्जेन्सी कामका लागि जानुपर्ने भयो, बनाएर खानू’ भनेर स्थानीयलाई बुझाएका थिए। उनीहरूले तेजबहादुरको शव मोरङको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टर पुऱ्याई हतारहतार पोस्टमार्टम र अन्त्येष्टि गर्न लगाएका थिए ।
परिवारका सदस्यले मृत्युको खबर भोलिपल्ट मात्र पाएका थिए। ‘भाइको साथी राजकुमार तामाङले भोलिपल्ट बिहान ७ बजे फोन गरेर जंगलमा गोलिया काट्न जाँदा भाइ लडेर भएको छ, उपचार गर्न ल्याउँदै छौं भनेका थिए,’ झापाको बैगुनधुरा घर भएकी तेजबहादुरकी दिदी विष्णुमायाले भनिन्, ‘उनैले ट्रमा सेन्टरमा बोलाएपछि हतारहतार पुगें ।
त्यहाँ पुग्दा भाइ बितिसकेकाले पोस्टमार्टम गर्न लागिएको भने।’ उनीहरूले नै आफूलाई प्रहरी कार्यालय लगेर सद्गतका लागि निवेदन दिन लगाएको विष्णुमायाले बताईन ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राकेश चौधरीका अनुसार तेजबहादुरलाई अस्पताल लगेका व्यक्तिहरूले ‘भीरबाट लडेर मृत्यु भयो, अन्त्येष्टि गर्ने बाटो खुलाइदिनुपर्यो’ भनेर आग्रह गरेपछि पोस्टमार्टम सकेर पुर्जी दिइएको थियो। पोस्टमार्टमका लागि प्रहरीमा दिइएको निवेदनमा भने ‘भीरब
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राकेश चौधरीका अनुसार तेजबहादुरलाई अस्पताल लगेका व्यक्तिहरूले ‘भीरबाट लडेर मृत्यु भयो, अन्त्येष्टि गर्ने बाटो खुलाइदिनुपर्यो’ भनेर आग्रह गरेपछि पोस्टमार्टम सकेर पुर्जी दिइएको थियो।
पोस्टमार्टमका लागि प्रहरीमा दिइएको निवेदनमा भने ‘भीरबाट लडेर घाइतेको उपचारका क्रममा मदन भण्डारी ट्रमा सेन्टरमा निधन भएको’ उल्लेख छ। तर, ट्रमा सेन्टर ल्याइपुऱ्याउँदा नै उनको मृत्यु भइसकेको डा. प्रोमिस बुढाथोकी बताउँछन् ।
उनका अनुसार तेजबहादुरको टाउकामा चोट लागेको थियो भने करङ भाँचिएका थिए, पेटमा रगत जमेको थियो। ‘काठ बोक्न जाँदा लडेर मृत्यु भएको भनियो,’ डा. बुढाथोकीले भने, ‘मैले मृत्युको यकिन कारण पत्ता लगाउन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सुझाव दिएको थिएँ तर यहीं पोस्टमार्टम गर्न भनियो ।
सबै काम हतारहतार गरिएकाले आफूले केही सोच्नै नपाएको विष्णुमाया बताउँछिन्। ‘एकपल्ट भाइको मुख हेर्छु भन्दा अहिले नहेरौं, छिटो अन्त्येष्टि गर्नुपर्छ भने। मिक्लाजुङको घर नजिकै घाटमा लग्दासम्म कसैले गोलिया काट्न जाँदा लडेको, कसैले अरिंगालले टोकेको त कसैले सिकार खेल्न जाँदा घटना भएको बताएपछि शंका लाग्यो,’ उनले भनिन्, ‘घाटमा गाउँलेको भनाभन नै भयो।
रोइकराइ गरेपछि अनुहार उघारिदिए। गहिरो चोट थियो। त्यही बेला वडाध्यक्षसहित केहीले छिटो जलाउनुपर्छ भनेपछि दाहसंस्कार गयौं,’ उनले भनिन्।
गाउँलेको कुरा सुनेपछि आफूलाई उर्लाबारीमा खाली कागजमा सही गराएको याद आएको विष्णुमायाले बताइन्। ‘अनि मृत्यु शंकास्पद छ भन्ने लागेर जाहेरी दिन खोजें,’ उनले भनिन् ।
तर, वडाध्यक्षसहितका केही टाठाबाठाले कहींकतै उजुर नगर्नू भनेर उनलाई दबाब दिए। ‘जे हुनु भइसक्यो, गरिब परिवार हो, हामी सहयोग गर्छौं भन्नुभयो,’ उनले सुनाइन् ।
तेजबहादुरका बुबा शरणबहादुरले घटना कसरी भयो भनेर कसैले जानकारी नदिएको बताए । ‘टाउकामा बूढीऔंलो छिर्ने प्वाल थियो,’ उनले भने, ‘गाउँपालिका अध्यक्षसँग सिकार खेल्न जान्छु भनेर हिंडेको थियो। के कसरी त्यस्तो भयो !’
मिक्लाजुङ-७ का वडा सदस्य सिंहराज तामाङ दाहसंस्कार गरिसक्दासम्म घटनाबारे आफूलाई थाहा नभएको बताउँछन्। ‘अन्त्येष्टि सकेपछि लडेर मृत्यु भएको भन्ने लेखिएको मुचुल्कामा सही गरिदिन भन्दै आए।
त्यसमा गोलिया काट्न जाँदा भीरबाट लडेको लेखिएको रहेछ,’ उनले भने, ‘घोरल मार्न गएको भन्ने सुनेको थिएँ। त्यही भएर मुचुल्कामा सही गरिनँ।’
अध्यक्ष माखिमले घटनाबारे अनभिज्ञता प्रकट गरे। तेजबहादुरलाई अरिंगालले टोकेर बिरामी भएको भनेर आफूलाई खबर गरिएको उनको भनाइ छ। ‘
उपचार गर्न लैजानू भनें, बिहान मृत्यु भएको खबर आयो,’ उनले भने। आफूसँग लाइसेन्सयुक्त बन्दुक भएकाले राजनीतीकरण गर्न खोजिएको उनले बताए। स्थानीय एक जनाले भने तेजबहादुर गाउँपालिका अध्यक्षसँग सिकार खेल्न जाँदै गरेको आफूले देखेको बताए।
मृतककी दिदी विष्णुमायाका साथै काका राजकुमार र बुबा शरणबहादुरले जिल्ला प्रहरी कार्यालयमा पुस १४ मा जाहेरी दिन खोजेका थिए। तर, प्रहरीले नलिएपछि हुलाक र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गराएको परिवारले जनाएको छ।
जाहेरीमा पालिका अध्यक्ष माखिम, मिक्लाजुङ-७ का राजकुमार तामाङ, डिकेन तामाङ, धनप्रसाद तामाङ र दोस्तीहाङ माखिमसहित ७ जनामाथि कारबाहीको माग गरिएको छ ।
डीएसपी कौशलकुमार बुढाथोकीले तेजबहादुरको मृत्युसम्बन्धी जाहेरी सुरुमा दर्ता नगरेको स्वीकार गरे। विष्णुमायाले उर्लाबारी प्रहरीमा निवेदन दिई शव बुझेर अन्त्येष्टि गरेको र त्यही जाहेरीको अनुसन्धान गर्ने समय २ वर्षसम्म रहने भएकाले दोस्रो जाहेरी दर्ता आवश्यक नभएको उनको भनाइ छ।
‘एउटै घटनामा दुई वटा जाहेरी लिन आवश्यक नभएको भनेर सम्झाउन खोजेको थिएँ,’ बुढाथोकीले भने।
घटनाको अनुसन्धान सुरु गरेको र ७ जनालाई झिकाएर सोधपुछ गरेको पनि डीएसपी बुढाथोकीले बताए। शव बोक्न प्रयोग भएको गाडीका चालक र आफन्तलाई पनि सोधपुछका लागि बोलाइएको उनको भनाइ छ। ‘राति ११ बजे गोलिया काट्न जाँदा लडेको र अरिंगालले टोकेको भन्ने विरोधाभास कुरा बाहिर आएको छ,’ उनले भने,
‘शवको फोटो र पोस्टमार्टम रिपोर्टलगायतलाई आधार मान्दा गोली नै लागेको हो भनेर ठोकुवा गर्न सकिन्न, तर घटनालगत्तै स्थानीय, प्रहरी, आफन्त र जनप्रतिनिधिलाई थाहै नदिई पोस्टमार्टमका लागि अर्को जिल्ला लगिनु, अन्तिम समय
शव हेर्न नदिनु, अन्त्येष्टिपछि मुचुल्कामा सही गरिमाग्न जनप्रतिनिधिकहाँ जानुले शंका बढाएको छ।’
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला घटनाबारे परिवार र जनप्रतिनिधि, प्रहरी र छिमेकीलाई जानकारी नै नदिई झापा लगेर पोस्टमार्टम गर्नु प्रक्रियाविपरीत भएको बताउँछन् ।
‘शव नै जलाइसकेपछि धेरै प्रमाण नष्ट भएका छन् । तैपनि प्रहरी प्रशासनले अनुसन्धान अगाडि बढाएको छ,’ उनले भने।
तेजबहादुरको मृत्युपछि उनको परिवार गाउँबाट विस्थापित भएको छ। तेजबहादुरको घरमा श्रीमती र बुबा छन्। अहिले उनीहरू विष्णुमायाको घरमा छन् ।
‘उजुरी नगर्नु, हामी चाहिएको सहयोग गर्छौँ भन्दै दबाब दिइरहेका छन् । वडाध्यक्ष र गाउँका केही ठूलाबडाले उजुरी गरे तिमीहरूलाई नै अप्ठेरो पर्छ भन्छन्,’ शरणबहादुरले भने। विष्णुमायाले बुहारी गर्भवती रहेको र माघ ७ मा सुत्केरी हुने मिति दिइएको बताइन् ।
Discussion about this post